आध्यात्मिक गुणहरू (#11149)

तिम्रा अनन्तताका सुगन्धयुक्त खोलाहरूबाट मलाई पिउन देऊ, हे मेरा ईश्वर, र तिम्रो अस्तित्वको वृक्षका फलहरू मलाई चाख्न दऊे, हे मेरा आशा ! तिम्रो प्रेमको निर्मल स्रोतबाट मलाई पिउन देऊ, हे मेरा गौरव, र तिम्रो सनातन धर्मको छायाँमा मलाई बस्न दऊे, हे मेरा ज्योति ! तिम्रो उपस्थितिमा तिम्रो सामीप्यको चउरमा मलाई विचरण गर्न देऊ, हे मेरा अतिप्रिय ! तिम्रो करुणाको सिंहासनको दाहिनेतिर मलाई राख, हे मेरा चाहना ! तिम्रो हर्षको सुगन्धित समीरको एक झोक्का ममाथि बहन देऊ, हे मेरा लक्ष्य, र तिम्रो यथार्थको स्वर्गको उचाइमा मलाई प्रवेश देऊ हे मेरा पूजनीय ! तिम्रो एकताको कोकिलको मधुर आलाप मलाई सुन्न देऊ, हे देदीप्यमान ! र तिम्रो बल र शक्तिको भावनाले मलाई पुनर्जीवित गराऊ, हे मेरा संभारकर्ता ! तिम्रो प्रेमको चेतनामा मलाई अटल गराऊ । हे मेरा पालनहारा, र तिम्रो सदिच्छाको मार्गमा मेरा गोडा दह्रो बनाऊ, हे मेरा स्रष्टा ! तिम्रो अमरत्वको बगैंचामा तिम्रो मुहारको सामु मलाई सधैँ बस्न देऊ, हे तिमी जो मप्रति करुणामय छौ, र तिम्रो गौरवको आसनमा मलाई स्थापित गर, हे तिमी जो मेरा मालिक हौ ! तिम्रो प्रेमाद्र दयाको स्वर्गमा मलाई उठाऊ, हे मेरा जीवनदाता, र तिम्रो मार्गदर्शनको दिवासूर्यतर्पm मलाई लैजाऊ, हे मेरा आकर्षण ! तिम्रो अदृश्य आत्माको प्रकटीकरणको सामु मलाई उपस्थित हुन बोलाऊ, तिमी जो मेरा स्रोत र परम चाहना हौ र तिमीले प्रकट गर्ने तिम्रो सौन्दर्यको सुवासको सारतत्वतर्फ फर्कन मलाई सक्षम गराऊ, हे तिमी जो मेरा ईश्वर हौ !
जे चाहन्छौ त्यही गर्न तिमी सक्षम छौ । तिमी, साँच्चै नै, अति उत्कृष्ट, सर्व–गौरवमय, सर्वोच्च छौ ।

-Bahá'u'lláh
-----------------------

आध्यात्मिक गुणहरू (#11150)

हे मेरा ईश्वर ! ममा एउटा पवित्र हृदय उत्पन्न गरिदेऊ र एक शान्त अन्तःकरणलाई पुनर्स्थापित  गरिदेऊ, हे मेरा अभिलाषा ! शक्तिको आत्माद्वारा मलाई आफ्नो सेवामा ग्रहण गर, हे मेरा परमप्रिय ! आफ्नो महिमाको प्रकाशद्वारा मलाई तिम्रो मार्ग देखाऊ, हे तिमी जो मेरो अन्तरेच्छाको परम ध्येय हौ ! हे मेरा सृष्टिका स्रोत, आफ्नो अत्युच्च शक्तिद्वारा मलाई आफ्नो पवित्रताको गगनतर्पm उठाऊ तथा आफ्ना अनन्तभावका वायु लहरद्वारा मलाई आनन्दित गरिदेऊ, हे तिमी जो मेरा ईश्वर हौ ! आफ्नो सदास्थायी मधुर रागिनीहरूद्वारा ममा शान्ति तथा स्थिरता फुकिदेऊ हे मेरा सखा ! तथा आफ्नो पुरातन मुखारविन्दका गुणहरूद्वारा मलाई तिम्रो अतिरिक्त अन्य सबैदेखि मुक्त गरिदेऊ, हे नाथ ! तिम्रो अक्षय सत्व प्रकाशको शुभ– समाचारद्वारा मलाई आनन्द मग्न राख, हे तिमी सर्वश्रेष्ठ, सबै प्रकट अस्तित्वभन्दा बढी प्रकट भएर पनि सर्व–गुह््य छौ ।

-Bahá'u'lláh
-----------------------

आध्यात्मिक गुणहरू (#11151)

हे मेरा प्रभु ! तिम्रो सौन्दर्यलाई मेरो योजना बनाइदेऊ र तिम्रो उपस्थितिलाई मेरो पेय, तिम्रो आनन्दलाई मेरो आशा बनाइदेऊ र तिम्रो प्रशंसा गर्नु नै मेरो काम, तिम्रो सम्झनालाई मेरो साथी बनाइदेऊ र तिम्रो सुशासनलाई मेरो पालनहारा, तिम्रो आश्रमलाई मेरो पनि घर बनाइदेऊ र तिम्रो सिंहासनलाई मेरो विश्रामस्थल बनाइदेऊ जसलाई तिमीले आपूmबाट विमुख भएकाहरूको लागि निर्धारित गरेका सीमाहरूबाट स्वतन्त्र गराएका छौ । 

निःसन्देह तिमी सर्व–शक्तिमान्, सर्व–गौरवमय, सबैलाई वशमा राख्नेवाला हौ ।

-Bahá'u'lláh
-----------------------

आध्यात्मिक गुणहरू (#11152)

हे मेरा प्रभु, मेरा ईश्वर ! तिम्रो नामको जय जय होस् । तिम्रो कृपाको डोरी बलियोसित पक्डेर र तिम्रो प्रचुर दयाको दौराको फेरोलाई समातेर उभिरहेको यो एउटा सेवक हो । तिम्रो जुन नामद्वारा तिमीले समस्त दृश्य र अदृश्य सृष्टिलाई आफ्नो वशमा राखेका छौ र सारा सृष्टिमा जीवनदायिनी श्वास संचार गराएका छौ त्यही नामद्वारा म तिमीसित प्रार्थना गर्दछु कि स्वर्ग र पृथ्वी दुवैमा व्याप्त तिम्रो शक्तिद्वारा मलाई सशक्त बनाइदेऊ तथा सारा रोग–व्याधि र दुःखकष्टहरूबाट मेरो रक्षा गर । म साक्षी दिन्छु कि सारा नामहरूका अधिपति तिमी नै हौ र जे चाहन्छौ त्यही कुराको आदेश गर्दछौ । तिम्रो अतिरिक्त अर्को कुनै ईश्वर छैन, तिमी सर्व–शक्तिशाली, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ । 

हे प्रभु ! मेरो लागि यस्तो आज्ञा गर ताकि सारा लोकहरूमा मेरो कल्याण होस् । अतः मेरो लागि पनि ती कुराहरू लेखिदेऊ जुन कुराहरू तिमीले आफ्ना केही चुनिएका भक्तजनको लागि लेखेकाछौ जसलाई  दोषारोपण गर्नेहरूका आरोपले, नास्तिकहरूका तर्कहरूले र तिमीबाट विमुख भएकाहरूको पराइपनले पनि तिमीतिर अग्रसर हुनबाट रोक्न सकेका छैनन् । 

साँच्चै नै आफ्नो प्रभुसत्ताद्वारा तिमी सबैको संकटमोचन गर्दछौ । तिमीबाहके अर्को कुनै ईश्वर छैन, सर्व–शक्तिमान्, सबैलाई वशमा राख्नेवाला, हे तिमी !

हे मेरा ईश्वर, हे दयावान्, हे कृपानिधान ! तिमी त्यो सम्राट् हौ जसको सर्वोच्च आज्ञाको एउटा शब्दबाट सम्पूर्ण सृष्टिको रचना गरिएको छ र तिमी त्यो सर्व–कृपालु हौ जसको कृपाको प्रवाहलाई तिम्रा सेवकहरूका कर्महरूले कहिल्यै अवरुद्ध गर्न सकेका छैनन्, न त तिम्रो कृपाका अवतारहरूलाई विक्षिप्त गराउन नै सकेका छन् । 

म तिमीसित प्रार्थना गर्दछु कि यो सेवकलाई त्यहाँसम्म पुग्न सक्ने बनाऊ ताकि तिम्रा सबै लोकहरूमा उसले मोक्ष प्राप्त गर्न सकोस् । साँच्चै नै तिमी सर्व– शक्तिमान्, सर्वोपरि, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ ।

-Bahá'u'lláh
-----------------------

आध्यात्मिक गुणहरू (#11153)

तिमी नै हौ सबैको प्रार्थना सुन्ने र मञ्जूर गर्ने । 

हे परमप्रिय, विश्वलाई ज्योति दिने हे तिमी ! तिम्रो महिमाको सौगन्ध, तिम्रो वियोगको ज्वालामा म पिल्सिरहेको छु र दिशाविहीनताले गर्दा मेरो आत्मा छटपटाइरहेको छ । 

हे तिमी विश्वका आकांक्षा र मानव–जातिका परम प्रिय, म तिम्रो अत्यन्त विराट नामको जपना गर्दै तिमीसित याचना गर्दछु कि मेरो आत्मालाई तिम्रो प्रेरणाको समीरमा आश्रित गराइदेऊ, मेरा कानहरूलाई तिम्रो अद्भुत आवाज सुन्न सक्ने बनाइदेऊ र मेरा आँखाहरूले तिम्रा चिन्हहरू तथा तिम्रा प्रकाशहरूलाई ठीक त्यस्तै देख्न सकून् जसरी तिनलाई तिमीले तिम्रा नामहरू र तिम्रा सद्गुणहरू प्रतिबिम्बित गर्ने अवतारहरूमा प्रकट गराएका छौ, हे तिमी जो सारा वस्तुलाई आफ्नो नियन्त्रणमा राख्दछौ । 

हे प्रभु, मेरा ईश्वर ! तिमीबाट टाढा हुनुपरेकोले गर्दा तिम्रा प्रियजनले आँसु बगाएको र तिम्रो दरबारदेखि टाढा हुनुपरेकोले तिम्रा भक्तहरू भयाकुल भएको तिमी देखिरहेका छौ । सारा दृश्य र अदृश्य वस्तुहरूलाई थर्कमान् पार्ने तिम्रो शक्तिको सौगन्ध ! पुथ्वीका अत्याचारी र दुष्टहरूको हातबाट तिम्रा अनुयायीहरूले जुन प्रकारको सास्ती खानु परिरहेको छ त्यसको लागि तिम्रा भक्तहरूले रगतको आँसु झार्नु उचित नै हो । हे मेरा प्रभु ! तिम्रा नगरहरू र तिम्रा राज्यहरूमा अनीश्वरवादीहरूले धाक जमाएको तिमी देखिरहेका छौ । 

जसद्वारा तिमीले तिम्रा सेवकहरूको बीचमा तिम्रो दिव्य–एकताको मापदण्डलाई स्थापित गराएका छौ, तिम्रा तिनै दूतहरूद्वारा, तिम्रा चुनिएका भक्तहरूद्वारा र तिम्रो अवतारद्वारा म तिमीसित याचना गर्दछु कि कृपा गरेर तिम्रा अनुयायीहरूलाई सुरक्षित राख । साँच्चै नै तिमी दयावान् छौ, कृपानिधान छौ । 

तिम्रो कृपाको कोमल वृष्टिद्वारा तथा तिम्रो दयाको समुद्रमा उर्लिरहेका छालहरूद्वारा म तिमीसित फेरि पनि प्रार्थना गर्दछु कि तिमी यस्तो वरदान देऊ जसले गर्दा तिम्रा भक्तहरूका आत्माले सान्त्वना र आँखाहरूले तृप्ति प्राप्त गर्न सकून् । तिम्रो यो भक्तलाई तिम्रो अघिल्तिर घुँडा टेकेर तिम्रो सेवा गर्ने अठोट गरिरहेको तिमी देखिरहेका छौ जसले मृतकले जस्तै तिम्रो दयाको समुद्रबाट अनन्त जीवनको चाहना गरिरहेको छ र तिम्रो सम्पन्नताको स्वर्गमा पुग्ने प्रयत्न गरिरहेको छ, यात्री जस्तै तिम्रो कृपाको छत्रछायाँमा तिम्रो गौरवशाली मन्दिरमा पुग्न हतारिएको छ, तिम्रो दया पाउने खोजकर्ता जस्तै तिम्रो कृपाको द्वारतिर लम्किरहेको छ र पापीजस्तै क्षमा र दयाको समुद्रतिर फर्किरहेको छ । 

हे तिमी जो मानव हृदयका आराध्यदेव हौ, तिम्रो प्रभुसत्ताको सौगन्ध ! मेरो आफ्नै इच्छा र आकांक्षा त्यागेर म तिमीतिर अघिबढेको छु ताकि तिम्रो आज्ञा र सदिच्छाले मभित्र शासन गर्न सकोस् र तिम्रो अनन्त आज्ञाको कलमले मेरोलागि जे निर्दिष्ट गरेको छ ठीक उसैगरी मलाई सञ्चालन गराओस् । हे प्रभु ! यो सेवक निःसहाय भए तापनि तिम्रो शक्तिको केन्द्रतर्फ लम्किरहेको छ, तिरस्कृत भएता पनि तिम्रो दिवासूर्यको ज्योतितर्फ अघि बढिरहेको छ र अभावग्रस्त भए तापनि तिम्रो कृपाको समुद्रको चाहना गरिरहेको छ । 

तिम्रो कृपा र दयाद्वारा म तिमीसित प्रार्थना गर्दछु कि उसलाई तिमीबाट टाढा गराएर निराश नबनाऊ । 

निश्चय पनि तिमी शक्तिमान्, क्षमावान् र करुणानिधान छौ ।

-Bahá'u'lláh
-----------------------

आध्यात्मिक गुणहरू (#11157)

हे मेरा प्रभु ! हे मेरा प्रभु ! यो तिम्रो प्रेमको आगोले बालिएको र तिम्रो करुणाको वृक्षमा सल्काइएको ज्वालाद्वारा प्रज्ज्वलित भएको बत्ती हो । हे मेरा प्रभु ! तिम्रो प्रकटीकरणको साईनाईमा सल्केको आगोद्वारा यसको चहक, ताप र प्रकाशलाई बढाइदेऊ । साँच्चै नै तिमी हौ प्रमाणदाता, सहायक, शक्तिवान्, उदार, मायालु ।

-`Abdu'l-Bahá
-----------------------

आध्यात्मिक गुणहरू (#11154)

हे ईश्वर ! मेरो आत्मालाई नवजीवन देऊ र प्रफुल्लित पार । मेरो हृदयलाई चोखो पार । मेरा शक्तिहरूलाई तेजिलो बनाइदेऊ । म आफ्ना सबै कारोबारलाई तिम्रो हातमा समर्पित गर्दछु । तिमी नै मेरा मार्गदर्शक र मेरा आश्रय हौ । म अब दुःखी र संतप्त रहँदिन, म एउटा प्रसन्न र आनन्दित जीव बन्नेछु । हे ईश्वर ! अब म चिन्तित रहने छैन, नत आपूmलाई कष्टले सताउन दिनेछु । म जीवनका अप्रिय कुराहरूमा ध्यान दिने छैन । 

हे ईश्वर ! तिमी मेरा जति मित्र छौ त्यति म आफुसित पनि छैन । म आफुलाई तिमीमा नै समर्पित गर्दछु, हे प्रभु !

-`Abdu'l-Bahá
-----------------------

आध्यात्मिक गुणहरू (#11155)

उनै हुन् सर्व–कृपानिधान, सर्व–दयालु ! हे प्रभु,मेरा ईश्वर ! तिम्रो आह्वानले मलाई आकर्षित गरेको छ र तिम्रो गौरवशाली कलमको आवाजले मलाई ब्युँझाइदिएको छ । 

तिम्रो विशुद्ध वाणीको प्रवाहले मलाई आनन्दविभोर बनाइ दिएको छ र तिम्रो प्रेरणाको मदिराले मलाई मदमस्त बनाइदिएको छ । हे मेरा प्रभु ! मलाई तिमीबाहेक अरू सबै वस्तुहरूबाट अलग भइसकेको, तिम्रो कृपाको डोरीलाई बलियोसित पक्डरे बसिरहेको तिम्रै दयाका उपहारहरूको आशामा उभिरहेको तिमी देखिरहेका छौ । तिम्रा प्रेमाद्र दयाका उत्ताल छालहरू तथा तिम्रा कोमल सरंक्षण र प्रेमको चम्किलो प्रकाशद्वारा म तिमीसित प्रार्थना गर्दछु कि मलाई यस्तो वरदान देऊ जसले मलाई तिम्रो नजिक लैजान र तिम्रो धनद्वारा धनाढ्य बनाउन सकोस् । मेरो वाणी, मेरो कलम र मेरो सम्पूर्ण अस्तित्वले तिम्रो शक्ति, तिम्रो तागत, तिम्रो कृपा तथा तिम्रो अनुग्रहलाई प्रमाणित गर्दछ र यो सिद्ध गदर्छ कि तिमी ईश्वर हौ, तिमीबाहेक अर्को कुनै ईश्वर छैन र तिमी शक्तिशाली, बलवान् छौ । 

हे मेरा ईश्वर ! यतिखेर म मेरो असहायपन र तिम्रो प्रभुसत्ताको, मेरो निर्बलता र तिम्रो सबलताको साक्षी भएर उभिएको छु । म जान्दिन कि मेरोलागि कुन कुरा लाभदायक छ र कुन कुरा हानिकारक छ । वस्तुतः सर्व–बुद्धिमान्, सर्व– ज्ञाता तिमी नै छौ । हे प्रभु, हे ईश्वर र मेरा स्वामी ! मेरो लागि यस्तो आदशे गर ताकि तिम्रै अनन्त आज्ञामा म सन्तुष्ट हुन सकूँ र तिम्रा सारा लोकहरूमा सम्पन्नता प्राप्त गर्न सकूँ । साँच्चै नै तिमी कृपालु  छौ, दयालु छौ । 

हे स्वामी ! मलाई तिम्रो दयाको स्वर्गबाट र तिम्रो द्रव्यको समुद्रबाट टाढा नराख र मेरोलागि यो लोक र परलोक दुवैमा उत्तम कुराहरूको व्यवस्था गरिदेऊ । वस्तुतः तिमी दयाको आसनका स्वामी हौ र सर्वोच्च सिहांसनमा विराजमान छौ । तिमीबाहके अर्काे कुनै ईश्वर छैन र तिमी अद्वितीय, सर्व–ज्ञाता, सर्व–बुद्धिमान् छौ ।

-`Abdu'l-Bahá
-----------------------

आध्यात्मिक गुणहरू (#11156)

हे प्रभु, मेरा ईश्वर ! तिम्रो जय होस् किनकि तिमीले मलाई तिम्रो एकतामा दीक्षित गरायौ, तिम्रो अद्वैततातिर आकर्षित गरायौ, तिम्रो प्रेमको अग्निद्वारा प्रज्ज्वलित गरायौ र तिम्रा मित्रहरू तथा तिम्रा सेवक– सेविकाहरूको सेवामा तथा तिम्रो गुणगान गर्न र स्मरण गर्नमा व्यस्त राख्यौ । 

हे प्रभु ! मलाई विनम्र र सुशील बन्नमा सहायता गर र मलाई सबै वस्तुहरूको मायामोहबाट मुक्त गराऊ र तिम्रो गौरवशाली वस्त्रमा टाँस्सिएर बस्न देऊ ताकि मेरो हृदय तिम्रो प्रेमले भरिपूर्ण भइरहोस् र यो ससांर र त्यहाँ भएका वस्तुहरूको  मोहको लागि त्यहाँ कुनै स्थान बाकीँ नरहोस् । 

हे प्रभु ! तिम्रो अतिरिक्त अन्य सबै कुराहरूबाट मलाई पवित्र गराऊ, पाप तथा अपराधहरूको कसरबाट मलाई स्वच्छ पार र एउटा आध्यात्मिक हृदय र आत्मा धारण गर्नमा मलाई मद्दत गर । 

वस्तुतः तिमी दयालु छौ, तिमी सबभन्दा दानी छौ र सबै तिम्रो सहायता खोजिरहेका छन् ।

-`Abdu'l-Bahá
-----------------------

आध्यात्मिक गुणहरू (#11158)

हे मेरा ईश्वर ! हे मेरा ईश्वर ! यो तिम्रो सेवक तिमीतर्फ अघि बढेको छ, तिम्रो सेवाको मार्गमा हिंड्दै, तिम्रा कृपाहरूको प्रतीक्षा गर्दै, तिम्रो दानशीलताको आशा राख्दै, तिम्रो अधिराज्यमा विश्वास गर्दै र तिम्रो सौगातको अमतृ द्वारा उन्मत्त भएर तिम्रो प्रेमको मरुभूमिमा भौँतारिरहेको छ । हे मेरा ईश्वर ! तिमीप्रतिको उसको प्रेमको व्यग्रतालाई बढाइदेऊ, तिम्रो स्तुतिमा उसको सतत् भक्तिलाई वृद्धि गराऊ तथा तिम्रो प्रेममा उसको अन्तस्करणबाट उठेको ज्वालालाई अझ बढाइदेउ । 

निःसंशय, तिमी नै हौ अति दानी तथा प्रचुर अनुग्रहका स्वामी । तिमीबाहेक अन्य कोही पनि परमात्मा छैन । तिमी नै हौ क्षमाशील अनि परमदयालु ।

-`Abdu'l-Bahá
-----------------------

आध्यात्मिक गुणहरू (#11159)

हे प्रभु ! हामी कमजोर छौं, बलियो बनाइदेऊ । हे ईश्वर ! हामी अज्ञान छौं, जान्ने बनाइदेऊ । हे प्रभु ! हामी दरिद्र छौं, सम्पन्न बनाइदेऊ । हे ईश्वर ! हामी मतृ छौ, जीवन देऊ । हे प्रभु ! हामी तिरस्कतृ छौं, तिम्रो अधिराज्यमा हामीलाई गौरवान्वित गराऊ । तिमीले सहायता गर्यौ भने, हे प्रभु ! हामी चम्किला ताराहरूसरह बन्नछौं । तिमीले सहायता गरेनौ भने हामी माटो भन्दा तुच्छ हुनेछौं । हे प्रभु ! हामीलाई सबल बनाऊ । हे ईश्वर ! हामीलाई विजय प्रदान गर । हे ईश्वर ! स्वार्थलाई विजय गर्न र लालसालाई दबाउन हामीलाई सक्षम बनाऊ । हे प्रभु ! हामीलाई भौतिक संसारको बन्धनबाट मुक्त गरिदेऊ । हे प्रभु ! पवित्र आत्माको श्वासद्वारा हामीलाई जीवित गराऊ ताकि तिम्रो सेवा गर्न हामी उठ्न सकौं, तिम्रो पूजामा व्यस्त रहौं र पूर्ण इमान्दारीसाथ तिम्रो अधिराज्यमा परिश्रम गर्न सकौं । 

हे प्रभु ! तिमी शक्तिशाली छौ । हे ईश्वर ! तिमी क्षमाशील छौ । हे प्रभु ! तिमी करुणामय छौ ।

-`Abdu'l-Bahá
-----------------------

